स्पेन क्याटलोनियाको संसद र सरकार भंग

११ कार्तिक २०७४, शनिबार ०२:१०

कात्तिक ११, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियानो राखोईले क्याटलोनियाको संसद भंग गरेका छन् ।

प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गरेका छन् ।  क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोइले त्यहाँको संसद् र सरकार भंग गरेका हुन । उनले क्याटलोलियाका प्रहरी प्रमुखलाई समेत बर्खास्त गरेका छन् ।  प्रधानमन्त्री राखोइले क्याटलोनियामा मध्यावधी निर्वाचन गराएर त्यहाँको स्थिति सामान्य बनाउन तत्काल केन्द्रीय शासन लागू गरेका हुन् ।

क्याटलोनियामा आगामी डिसेम्बर २१ मा चुनाव हुने छ । प्रधानमन्त्री राखोइले चुनाव स्वतन्त्र र निष्पक्ष गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनपछि क्याटलोनियामा विधिको शासन स्थापना हुने विश्वास प्रधानमन्त्रीले राखेका छन् । राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा ‘कानुन, प्रजातन्त्र र स्थायित्व’ फर्काउन आफूले कडा कदम चाल्नु परेको बताए ।  यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । संसद्मा भएको गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका थिए ।

 

१३५ सदस्यीय संसद्मा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० मत परेको थियो । दुई जना सदस्यले मतदानमा भाग लिएका थिएनन् भने विपक्षी केही सांसदले मतदान बहिस्कार गरेका थिए । सो मतपरिणाम सुनेर क्षेत्रीय संसद् भवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरेका थिए ।  क्याटलोनियाको संसद्ले मतदान गरेको उक्त प्रस्तावमा स्पेनबाट कानुनी अधिकारहरु स्वतन्त्र क्याटलोनियामा फर्काउने उल्लेख छ । स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो । (एजेन्सी)