मन्जिल कन्दङवा (प्रशिक्षार्थी पत्रकार)
आयोखबर : काठमाडौं स्थित नयाँ बानेश्वरको पिपलबोटमुनी बोरा ओछ्याएर सानो सडक पसल खोलेर आफ्नो जीविको पार्जन गर्ने गर्छिन् पार्वती थापा । भारतको दार्जिलिङको मिरिकमा जन्मिएकी उनी सात कक्षासम्म मात्र पढेकी बताउँछिन् । बुबा इण्डियन अर्मी भएकाले परिवारिक वातावरण राम्रो रहेको बताएकी उनी गहभरि आँसु पार्दै दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनमा सम्पूर्ण परिवारको गुमाएको बताउछिन् । उनको परिवारमा बुबा, आमा, एक दाजु÷भाई र दिदीवहिनी रहेका सुनाउँछिन् । त्यस आन्दोलनको समयमा पार्वती भने मामाघर नेपालको पूर्वी पहाडी जिल्ला इलामको पशुपती नगरमा बसेकी थिइ । पछि उनलाई मामाघरबाट गाउँकै एक धनाड्य एक राई परिवारको घरमा काम गर्न राखिदिएका थिए । चार वर्षसम्म काम गरेपछि उनी तिन जना साथी सहित भागेर काठमाडौं आएकी थिइन् ।
सुरुमा उनी साथीहरुसंगै किर्तिपुरमा डेरा गरी बसेकी थिईन । पहिले उनले टेकु स्थित सूर्य चुरोट कारखानामा काम गरेकी उनी कारखाना बन्द भएपछि भक्तपुरमा घरायसी कामदारको रुपमा काम गर्दै बसिन । स्वयम्भू यातायातमा खलासी गर्दै गाडी चलाउन सिकेको कुरा भावुक हुँदै सुनाईन । उनले गाडी चलाउन सिके तर चालक भने नागरिकताकै कारण बन्न नपाएको गुणासो सुनाईन् । दुईछाक खान र बस्नको लागि हालसम्म धेरै संघर्ष गरेकी बताउँछिन् उनी । हालसम्म नागरिकता नपाएकी आन्दाजी ४५ वर्ष देखिने पार्वतीलाई आफ्नै उमेर पनि ठ्याक्कै थाहा छैन । हाल पञ्चकुमारी नयाँबानेश्वरमा बस्दै आएकी उनी १२ वर्षदेखि निरन्तर नयाँबानेश्वर पिपलबोट चोक फुटपथमा बोरा बिछ्याएर केही मिठाइका बट्टा, चुरोट, सूर्ती, सिक्का र पानी बेचेर गुजारा चलाउँदै आएकी छिन् ।
दैनिक उनको औसत रुपैयाँ ३०० को सामान बिक्री हुने गरेको बताउँछिन् । उनी बिहानको ६ बजे नै पसल राख्न आईपुग्छिन् र रातको ८ बजे नजिकैको एक पसललेकोमा सामान थन्क्याएर कोठा जान्छिन् । सानोमा गाउँमा पिङबाट लडेर खुट्टा भाँचिएको र हालै मोटरसाईकलले हानेर उनको खुट्टा भाँचिएको भन्दै सुनिएको खुट्टा देखाउँदै दुःख पोखिन् । महानगरपालिकाले बारम्बार फुटपाथका पसल हटाउन आएर दुःख दिने गरेको उनी बताउछिन् । उनी हालसम्म अविवाहित नै छिन । पैसा अलि कमाएपछि सटर खोलेर सुरक्षित साथ व्यापार गर्ने चाहाना रहेकी सुनाईन् ।
उनी भन्छिन् अविवाहित एकल महिलालाई सरकारले केही राहात दिए हुन्थ्यो ।