प्रदेश २ का ११९ स्थानीय तहमा मतगणना सुरु, सिरहामा तीन दल वडामा विजयी

३ आश्विन २०७४, मंगलवार ०८:४७

काठमाडौँं, असोज ३ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा यही असोज २ गते भएको निर्वाचनको हालसम्म ११९ स्थानीय तहमा मतगणना सुरु भएकोछ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणानुसार आज अपराह्नसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र पर्साका चार स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

अहिले स्थानीय तहका राजनीतिक दलसँग समन्वय गर्ने कार्य भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । यसैगरी, सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् ।

लहान नगरपालिका वडा नं १ मा काँग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी हुनुभयो ।

यसैगरी सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडाध्यक्षमा विजयी हुनुभएको छ । मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ ।

त्यस्तै कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ ।

निर्वाचन कार्यालयले सिरहामा मतगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको प्रमुख निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।