वाइसे चौविसे राजाहरुको पालामा खाँचीकोटका राजकुमार र भारत वलरामपुरको राजकुमारीसँग वैवाहिक सम्बन्ध कायम गर्ने कुराको छिनोफनो भएछ । विवाहको लगनको दिन वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दुलही लिएर अर्घाखाँची फर्कने बेला बाटोमा जन्तीहरुलाई भोज खुवाउने कार्यक्रम भएछ । भोज खाने क्रममा जन्तीहरुबाट खाँचीकोटका राजाले झुक्याएर विवाह गरेका र दुलही तर्फको जातको प्रसंग निकाल्दा जन्तीहरुबीच विवाद उत्पन्न भएछ । भोजमा जे–जस्तो विवाद भए पनि दुलही खाँचीकोटसम्म पुर्याउनुपर्ने भयो ।गाउँलेहरु दुलही लिएर जाँदा तामदानबाट रगतको थोपा झरेको स्थान सुपाखोलाको पश्चिम नरपानी र फलामे अग्लो महाभारत पर्वतको बीच भन्ज्याङमा आएर सुपा देउरालीको प्रतिमा राखी पूजा आजा चलाउन थालेछन् । जन्तीहरु आत्तिएर तामदानमा हेर्दा दुलही मृत अवस्थामा देखेछन् । दुलहीनै मृत अवस्थामा देखेपछि सबै जन्तीहरु शोकाकुल हुन पुगेछन् । दुलहीको मृत्युको शोकले खाँचीकोट शोकमग्न हुनपुगेछ । भोलिपल्टबाट गाउँमा रोगव्याधी उत्पन्न हुन थालेछ । कसैको गाई मर्ने, कसैको भैंसी मर्ने र गाउँघरमा मानिसको समेत मृत्यु हुन थालेछ । सबै मानिसहरु आत्तिन थालेछन् । गाउँका धामी, झाँक्री र जोखना हेर्ने जैशीहरुको समेत खैलाबैला भएछ । त्यसैबेला एकजना खनाल थर भएका झाँक्रीले विवाह गरेर ल्याएको राजकुमारी देवीको स्वरुप सुपा देउरालीमा उत्पन्न भएकोले उनको पूजा–आजा नगर्दासम्म गाउँमा यस्तै भइरहने बताएछन् ।यो सुपादेउराली देवीको उत्पत्तिको किंवदन्ती कथा हो ।

यही कथामा लाहुरे पहराको पनि कथा जोडिएको छ । सुपा देउरालीको भाकल गरेपछि मनले चिताएको सबै कुरा पुग्ने जनविश्वास थियो । एकजना युवाले आफू लाहुरे बन्ने भाकल गरेछन । भाकल गरेको केही समयपछि लाहुरे भए तर घर छुट्टीमा आउने बेला बाटोमा आफूले गरेको भाकल सम्झिएपनी उनले भर्ती भइहालियो किन भाकल चढाउने भन्ने कुरा उव्जिएछ । सुपादेउराली नजिक आइपुग्दा बाटो छलि खोलाको बाटो हिडन खोज्दा उनको मृत्यु भएछ । जुन ठाउँलाई अहिले
लाहुरे पहरा भन्ने गरिन्छ । त्यस पहरामा लाहुरेको आकृतिको चित्र टाँसिएर अवस्थामा रहेको छ । अहिले सुपादेउराली पुग्ने ग्रामीण पर्यटनहरु त्यो दृष्य हेर्नको लागि लाहुरे पहरा पुग्ने गर्दछन् ।
