रुस–युक्रेन द्वन्द्व शुरू भएपछि पश्चिमको चाहनाविपरीत भारतले रुससँग सुमधुर सम्बन्ध कायम राख्दै तेल कारोबार थप उच्च बनाएको पश्चिमले चित्त बुझाएको छैन । रुससँग कारोबार गरेकोमा भारतमाथि प्रतिबन्ध लगाउनुपर्ने भनी युक्रेनी संसद्को परराष्ट्रनीति समितिका प्रमुख अलेक्जेन्डर मेरेज्कोले केही दिनअघि माग राखेका थिए । तर अमेरिकाको परराष्ट्र मन्त्रालयमा युरोपेली तथा युरेसियाली मामिला हेर्ने अधिकारी करेन डोनफ्राइडले मेरेज्कोको मागलाई ठाडै इन्कार गरिन् ।
भारतमाथि प्रतिबन्ध लगाउने आफूहरूको कुनै उद्देश्य नरहेको उनले बताइन् । चीनसँगको शीतयुद्धमा भारत भूरणनीतिक रूपमा आवश्यक सहयोगी हुने भएकाले भारतलाई पूरै चिढ्याउन पश्चिम चाहँदैन (क्वाड र हिन्द प्रशान्त रणनीतिमा भारतलाई राख्नुको उद्देश्य यही हो )। अनि रुससँग भारतको हतियारमा अतिशय निर्भरता रहेकाले भारतलाई रुसविरुद्ध जान नमिल्ने बाध्यता रहेको पनि पश्चिमले बुझेको छ ।
त्यसैले भारतलाई फकाउनुका साथै तर्साउने (स्टिक यान्ड क्यारोट) नीति पश्चिमले अंगीकार गर्न खोजेको देखिन्छ । एकातिर भारतसँग सम्पर्क बढाउने अनि अर्कोतिर उसलाई दबाबमा राख्ने कदमहरू पनि चाल्ने पश्चिमको रणनीति देखिन्छ । दबाबको रणनीतिमा भइरहेको कामका उदाहरण पछिल्ला तीनवटा घटनाक्रमका रूपमा प्रस्तुत भएका छन् । पहिलो, बीबीसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कटु आलोचना गर्दै एक डकुमेन्ट्री सार्वजनिक गरेको छ ।
दुईवटा भागमा बनाइएको उक्त डकुमेन्ट्रीको पहिलो भागमा गुजरातका मुख्यमन्त्री छँदा मुसलमानहरूको सामूहिक हत्या हुने गरी भएको दंगामा मोदीको भूमिका खुलाइएको छ । अनि मोदी प्रधानमन्त्री भएपछि भारतमा मुसलमानहरूका विरुद्ध दमनका घटना बढेको कुरा दोस्रो भागमा देखाइएको छ ।
