काठमाडौँ, १८ असोज । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र पक्षधरसँग चुनावी तालमेल हुनसक्ने संकेत गर्नुभएको छ ।
रिपोर्टस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष केसीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई आफूले ठूलो रुपमा नलिएको भन्दै चुनावी तालमेल भए तापनि पार्टी एकता भने हुन नसक्ने बताउनुभयो ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले चुनावअघि आफूहरु पार्टी एकीकरणमा नजाने बताउनुभयो । उहाँले एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच भएको तालमेलको शुरुवात सकारात्मक भएको भन्दै आगामी चुनावपछि मात्र छलफलमा जाने भनाइ व्यक्त गर्नुभयो ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिँदै बाम एकताको प्रयास नै गलत भएको बताउनुभयो ।
उहाँले एमाले, माओवादी र नयाँशक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको आरोप लगाउँदै यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेकोसमेत दाबी गर्नुभयो ।
माओवादी केन्द्रका नेता दीनानाथ शर्माले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेलले वर्तमान सरकारलाई केही असर नपर्ने बताउनुभयो ।
उहाँले बाम तालमेलको प्रयासबारे आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै जानकारी दिएको उल्लेख गर्दै भन्नुभयो, “हामीले एमालेसँग बाम तालमेल गर्नेबारे काँग्रेसलाई जानकारी दिएका थियौंँ, त्यसैले यो कसैका विरुद्ध लक्षित छैंन ।” नेता शर्माले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारबाट चुनाव हुने भन्दै पार्टी फुटेर भन्दा पनि जुटेर अघि बढ्नु उपयुक्त हुने बताउनुभयो ।