१२ वर्षपछि विश्वकपमा पहिलो जितको खोजीमा नेपाल

३० माघ २०८२, बिहीबार १०:२५

मुम्बई।सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी–२० विश्वकपमार्फत नेपालले पहिलो पटक विश्वकपमा डेब्यू गरेको थियो। पहिलो सहभागितामै दुई जित निकाल्दै नेपालले विश्व क्रिकेटमा आफ्नो सशक्त उपस्थितिको संकेत दिएको थियो।

चितागोङस्थित जहुर अहमद चौधरी स्टेडियममा मार्च १६, २०१४ मा भएको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै ऐतिहासिक सुरुवात गरेको थियो। त्यसपछि बंगलादेशसँग पराजित भए पनि अफगानिस्तानलाई ९ रनले हराउँदै नेपालले समूह चरणमा २ जित दर्ता गर्‍यो।

तर नेट रनरेटमा पछि परेपछि नेपाल सुपर १२ मा पुग्न असफल रह्यो।

त्यही प्रदर्शनले नेपाली क्रिकेटलाई विश्वमाझ चिनायो। त्यसपछि नेपालले दुई पटक टी–२० विश्वकपमा छनोट गरिसकेको छ। हाल भारत र श्रीलंकामा संयुक्त रूपमा भइरहेको टी–२० विश्वकपमा नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक सहभागी छ।

२०१४ पछि जितविहीन यात्रा

तर तथ्यांकले एउटा पीडा पनि देखाउँछ — मार्च २०, २०१४ मा अफगानिस्तानलाई हराएपछि नेपालले टी–२० विश्वकपमा कुनै खेल जित्न सकेको छैन।

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपालले चारमध्ये तीन खेल गुमायो भने एक खेल वर्षाका कारण हुन सकेन।

यस संस्करणमा भने नेपालले दमदार सुरुवात गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा दुई पटकको च्याम्पियन इंग्ल्याण्डविरुद्ध नेपाल ४ रनले मात्र पराजित भयो। जितको नजिक पुगेर हार बेहोरे पनि प्रदर्शनले विश्वभर प्रशंसा बटुल्यो।

अब लक्ष्य -इटलीमाथि जित

अब समूह ‘सी’ अन्तर्गत नेपालले बिहीबार इटलीसँग दोस्रो खेल खेल्दैछ।

यो खेल नेपालका लागि १२ वर्षपछि विश्वकपमा पुनः जित निकाल्ने अवसर बन्न सक्छ।

इटली आईसीसी वरियतामा २७औँ स्थानमा रहेको टोली हो। यो उसको पहिलो टी–२० विश्वकप सहभागिता हो। डेब्यू खेलमा इटली स्कटल्याण्डसँग पराजित भएको थियो।

इंग्ल्याण्डसँगको प्रतिस्पर्धात्मक खेलपछि कप्तान रोहित पौडेलले दबाब व्यवस्थापन र कठिन परिस्थितिमा निर्णय लिन सिकेको बताएका छन्। पहिलो खेलकै प्रदर्शन दोहोर्याउन सके नेपालले इटलीमाथि जित निकाल्ने विश्वास समर्थकहरूमा छ।

वानखेडे स्टेडियममा हुने सबै समूह खेलमा नेपाली समर्थकहरूको बाक्लो उपस्थिति अपेक्षित छ। जहाँ गए पनि नेपाली टिमले घरेलु माहोल पाउने गरेको छ।

इटलीसँग १३ वर्षअघिको भेट

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र इटलीबीच यो पहिलो भेट हुनेछ। तर ५० ओभरको क्रिकेटमा भने दुवै टोली १३ वर्षअघि भिडेका थिए।

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ अन्तर्गत बर्मुडामा भएको खेलमा नेपालले १२८ रनको लक्ष्य १४.५ ओभरमै २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको जित निकालेको थियो।

सुवास खकुरेल (४७), प्रदीप ऐरी (४२*) र पारस खड्का (२२) ले उत्कृष्ट ब्याटिङ गरेका थिए।

बलिङतर्फ सन्जम रेग्मी, राहुल विश्वकर्मा र शक्ति गौचनले शानदार प्रदर्शन गरेका थिए।

त्यही प्रतियोगितालाई नेपाली क्रिकेट इतिहासमा ‘मिराकल अफ बर्मुडा’ भनेर चिनिन्छ — सुरुका दुई खेल हारेपछि नेपालले लगातार जित निकाल्दै उपाधि जितेको थियो।

इतिहास दोहोर्याउने अवसर

२०१४ मा डेब्यू विश्वकपमा सशक्त उपस्थिति जनाएको नेपाल अहिले १२ वर्षपछि फेरि विश्वकप जितको खोजीमा छ।

इंग्ल्याण्डविरुद्धको आत्मविश्वास र समर्थकहरूको साथलाई बलमा परिणत गर्न सके, इटलीविरुद्धको खेल नेपालका लागि ऐतिहासिक मोड बन्न सक्छ।