नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् ।
मंगबार नेकपा काठमाडौं-५ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताएका हुन् ।
विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरू सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उनको भनाइ छ । ‘विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत भए पनि नभए पनि सोसल मिडियामा स्टन्ट गरेकै भरमा साम्राज्यवादले विभिन्न देशमा लोकप्रियतावादलाई प्रस्तुत गर्ने र लोकतन्त्रविरुद्ध प्रहार गर्ने गरेको छ । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना आएको छ । यहाँ लोकतन्त्रमाथि प्रहार गर्ने अहिलेको भूराजनीतिक चलखेलजस्तो छ,’ उनले भने ।
गणतन्त्र, संघीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा नयाँ विचार बोकेको शक्ति भएको दाबी पनि उनले गरे ।
त्यसको प्रतिवाद गर्न पनि आफूहरूले एउटा नयाँ संकल्प, नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको उनले बताए । त्यही तागत सृष्टि गर्ने उद्देश्यले नेकपा स्थापना गरेको उनको भनाइ छ ।
