आईसीसी मेन्स टी–२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डविरुद्धको प्रतिस्पर्धात्मक खेलपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल अब कुनै पनि टिमलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको बताएका छन्।
आइतबार मुम्बईको वानखेड़े स्टेडियममा सम्पन्न पाँचौँ खेलमा दुई पटकको विश्व च्याम्पियन इंग्ल्यान्डले नेपाललाई ४ रनले पराजित गरे पनि खेलभरि नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
१८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन आवश्यक थियो। तर स्याम करनको कसीलो बलिङका कारण नेपाल जित नजिक पुगेर रोकियो।
खेलपछि प्रतिक्रिया दिँदै कप्तान पौडेलले टिमप्रति गर्व व्यक्त गरे।
उनले भने, “निराशा त छ, तर टिमले देखाएको प्रयासप्रति निकै गर्व छ। इंग्ल्यान्डजस्तो बलियो टिमविरुद्ध खेलाडीहरूले देखाएको संघर्ष प्रशंसनीय छ।”
उनका अनुसार नेपाली टिम विश्वकपमा सहभागी हुन मात्र नभई प्रतिस्पर्धा गर्न आएको हो।
“यदि हामीले आफ्नो उत्कृष्ट क्रिकेट खेल्यौँ भने, कुनै पनि टिमलाई हराउन सक्ने क्षमता हामीसँग छ भन्ने विश्वास समूहमा छ,” उनले थपे।
