रूपन्देही असुरक्षित ठानेर विष्णु पौडेल गए चुनाव लड्न पाल्पा

५ माघ २०८२, आईतवार ०८:३२

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ३१ वर्षपछि आफू संसदीय राजनीतिमा प्रवेश गरेको जिल्ला फर्किएका छन्।

२०३३ सालदेखि सक्रिय राजनीतिमा लागेका पौडेलको संसदीय राजनीतिको यात्रा २०५१ सालदेखि सुरु भएको थियो। उनी २०५१ सालको मध्यावधि चुनावमा पाल्पा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

त्यसयता भने उनी लगातार पाँच वटा निर्वाचनमा रुपन्देहीबाट निर्वाचन लडेका थिए। ती मध्ये २०५६ सालको निर्वाचनमा तत्कालीन रुपन्देही क्षेत्र नं. ३ बाट ६०० मत अन्तरले पराजित भएका पौडेल त्यस यता २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट लगातार विजयी भए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने उनी ३१ वर्ष अघि संसदीय राजनीतिको यात्रा सुरु गरेको पाल्पा फर्किएका छन्।

यसअघि पाल्पा क्षेत्र नं. २ बाट पौडेल सहित ठाकुर गैरे लगायत ५ जनाको नाम सिफारिस गरिएको थियो। रुपन्देही क्षेत्र नं. २ बाट भने पौडेलको एकल नाम सिफारिस गरिएको थियो। शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई रुपन्देही छोडेर पाल्पा क्षेत्र नं. २ बाटै उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसअघिको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमाले नेता ठाकुर गैरे निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा २८ हजार ६ सय ४५ मत लिएर विजयी भएका गैरेलाई हटाएर एमालेले पार्टीका उपाध्यक्ष पौडेललाई पठाएको हो।

त्यसो त विष्णु पौडेललाई २०७० सालको निर्वाचनमा नै रुपन्देहीसँगै नवलपरासीबाट पनि उम्मेदवार बन्ने टुङ्गो लागेको थियो। तत्कालीन नेकपा माओवादीले रुपन्देहीबाट डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाएको थियो।