नयाँ दिल्ली । नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम, लाजपत नगर (मूलचन्द मेट्रो स्टेशन नजिक) मा आइतबार ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। उहाँले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्व तथा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा स्पष्ट, तथ्यपरक र दूरदर्शी विचार व्यक्त गर्नुभयो।
नेपाली समाज भारतका अध्यक्ष रामबहादुर डागीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव आर.बी. खड्काले सञ्चालन गर्नुभएको थियो भने केन्द्रीय उपाध्यक्ष नारायण बञ्जाडेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा नेपाली समाज भारतका उपाध्यक्ष उषा थापा, उपमहासचिव राजु केसी, नागेन्द्र ढकाल, रवि कुमार, सचिवहरू कमला शर्मा, नारायण बीके, नवराज सेडाई, शोभाराम रसाली, कोषाध्यक्ष मानु श्रेष्ठ, सह–कोषाध्यक्ष ठाकुर भुसाल, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष वेदप्रकाश भण्डारी, केन्द्रीय नेता नबल केसी, अर्जुन दयाल, बेल पून, राधा आर्याललगायत केन्द्रीय नेता, कार्यकर्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा नेपाल भारत भाइचारा प्रवर्द्धनमा संलग्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भारतका विभिन्न राज्यहरूबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भविष्यका कार्यदिशाका विषयमा गहन छलफल गरिएको थियो।
नेपाली समाज भारतले यस्ता कार्यक्रममार्फत प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाल–भारत मैत्री सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
