काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन्। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल; नेकपा (बहुमत); वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल; नेपाल कम्युनिस्ट पार्टी नेपाल; नेपाल कम्युनिस्ट पार्टी; र समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन्।
कुपोन्डोलमा बसेको ६ पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई जनविरोधी र अलोकतान्त्रिक ठहर गर्दै बहिष्कार गर्ने निर्णय गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा वर्तमान सरकारलाई ‘कठपुतली’को संज्ञा दिँदै तत्काल विघटनको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विद्यमान जनविरोधी, अलोकतान्त्रिक कठपुतली सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि संयुक्त संघर्ष अघि बढाइनेछ।”
