काठमाडौं ।
पोखरा लिचीबारीसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको छ। अदालतमा इजलासकै क्रममा असत्य बयान दिएको ठहरसहित उनलाई तत्कालका लागि हिरासतमा राख्न आदेश गरिएको हो।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले घुस मुद्दामा प्रस्तुत प्रमाणहरू विश्वसनीय देखिएको निष्कर्ष निकाल्दै थुनामा पठाउने आदेश दिएको हो। घुस प्रकरणमा पूर्वमन्त्री थुनामा पर्ने घटना दुर्लभ मानिएको छ।
विहीबार अदालतमा उपस्थित गुप्ताले ‘पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बाहेक अन्य अभियुक्तलाई नचिनेको’ बयान दिएका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्दा घुस लिएको आरोप अस्वीकार गर्दै उनले अडियो रेकर्ड प्रविधिको दुरुपयोग गरी बनाइएको दाबी गरेका थिए।
तर अदालतले गुप्ताको दाबीभन्दा मुद्दामा संलग्न अन्य प्रमाणहरूलाई प्राथमिकता दिँदै तत्काल थुनामा पठाउने आदेश दिएको हो।
मुद्दाअनुसार, पोखरा लिचीबारीको जग्गा दर्ता गरिदिने आश्वासन र कास्की मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको पद थमौती गराइदिने भन्दै मन्त्री गुप्ताले घुस लिएको आरोप छ। पूर्वमन्त्री गुप्ता र रञ्जिता श्रेष्ठमाथि अधिकारीलाई कास्कीमै कायम राख्न ५३ लाख रुपैयाँ घुस लिएको अभियोग छ।
त्यस्तै, भूमि आयोग कास्कीको अध्यक्षमा खमबहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेनमा संलग्न भएको आरोपसहित एकमुष्ट ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। घुस दिने पक्षका सुजन लामामाथि पनि सोही बराबरको बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ।
विशेष अदालतले मन्त्रीविरुद्ध परेको उजुरी, अडियो संवादको स्क्रिप्टलगायत प्रमाणलाई घुस लेनदेन पुष्टि गर्ने आधार मानेको छ।
