नेपाली कम्युनिष्ट पार्टीले लुम्बिनी प्रदेशबाट उदय अधिकारीलाई समानुपातिक उम्मेदवार सिफारिस

१४ पुष २०८२, सोमबार ११:५८

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्षतर्फका उम्मेदवारहरू सिफारिस गरेको छ।

पार्टीको लुम्बिनी प्रदेश संघीय सम्पर्क समितिको बैठकले पाल्पाको रम्भाका युवा नेता उदयराज अधिकारीलाई समानुपातिकतर्फ युवा, खस–आर्य क्लस्टरबाट सिफारिस गरेको हो। अधिकारी लुम्बिनी प्रदेश सम्पर्क समन्वय समितिबाट सिफारिस भएका हुन्।

बैठकले महिला, दलित, आदिवासी जनजाति, खस–आर्य र पिछडिएको क्षेत्रलाई समेट्दै समावेशी प्रतिनिधित्वका आधारमा उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको पार्टीले जनाएको छ।

प्रत्यक्षतर्फ सिफारिस गरिएका उम्मेदवारहरूमा रुपन्देहीबाट श्रीधर खनाल, प्युठानबाट रविन्द्र केसी र बाँकेबाट तेज रेग्मी रहेका छन्।

यसैगरी समानुपातिकतर्फ अन्य सिफारिस उम्मेदवारहरूमा उदयराज अधिकारी, गीता गहतराज, चित्रबहादुर घर्ती मगर, शुशिला चौधरी, तिलक राज बीके र विद्या राज पाण्डे रहेका छन्।

संघीय सम्पर्क समितिका इन्चार्ज गीता गहतराज र संयोजक उदयराज अधिकारीले हस्ताक्षर गरेको पत्रमार्फत सिफारिस सूची केन्द्रमा पठाइएको हो। पार्टीका अनुसार सिफारिस गरिएका उम्मेदवारहरू केन्द्रको अनुमोदनपछि मात्र अन्तिम रूपमा उम्मेदवार हुनेछन्।