
बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई हराउँदै क्लिनस्वीप गरेको छ। १४ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद रास्वपाले जितेको छ।
अध्यक्षमा कृष्ण थापा ८८ मतसहित विजयी भए भने गठबन्धनबाट नरबहादुर मल्ल ७५ मतमा पराजित भए। वरिष्ठ उपाध्यक्ष गंगाबहादुर पौडेल, उपाध्यक्ष शंकर पौडेल, सचिव मधुप्रसाद घिमिरे, कोषाध्यक्ष छत्रबहादुर खत्री र सहसचिव पृथबहादुर थापा निर्वाचित भएका छन्। महिला सदस्य र अन्य सदस्यहरू पनि रास्वपाबाट निर्वाचित भएका छन्।
निर्वाचनमा रास्वपाको जीतमा दलगत समर्थन नभए पनि परिवर्तनशील मतदाताको समर्थन प्रमुख भूमिका खेलेको सचिव घिमिरेले बताए। यसअघि बुटवलकै नयाँगाउँ खानेपानी संस्थामा पनि रास्वपाले गठबन्धनलाई चुनौती दिएको थियो।
