
जम्मु कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी कार्यालयभित्र शुक्रबार राति ठूलो विस्फोट भएको छ। विस्फोट परीक्षणका क्रममा नै भएको प्रारम्भिक सुराकीका बीच भारतीय सञ्चारमाध्यमहरूले मृत्यु संख्या फरक–फरक रूपमा उल्लेख गरेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार घटनामा ९ जनाको मृत्यु भएको छ भने टाइम्स अफ इन्डियाले ६ जनाको मृत्यु पुष्टि गरेको छ। दुवै मिडियाका अनुसार घाइतेको संख्या धेरै छ र केहीको अवस्था गम्भीर छ।
फरिदाबादबाट बरामद विस्फोटकको परीक्षणकै दौरान दुर्घटना
प्रहरी र फरेन्सिक टोलीले हरियाणाको फरिदाबादबाट भर्खरै बरामद गरिएको विस्फोटक पदार्थको नमूना परीक्षण गरिरहेका बेला विस्फोट भएको बताइएको छ।
गत हप्ता धौज र फतेहपुर टागा गाउँका भाडाका कोठाबाट २,९०० किलो अमोनियम नाइट्रेट, तार, टाइमर र अन्य बम–निर्माण सामग्री फेला परेको थियो।
उक्त कोठा जम्मु–कश्मीर पुलवामाका ३५ वर्षीय चिकित्सक डा. मुजम्मिल शकीलले लिएका थिए। शकील अल–फलाह मेडिकल कलेजमा पढाउँथे।
दुई हप्ता अघि पक्राउ परेका शकीलको बयान र डिजिटल प्रमाणका आधारमा प्रहरीले यस नेटवर्कलाई ‘ह्वाइट कलर टेरर मोड्युल’ नाम दिएको थियो।
घाइते २७ भन्दा बढी, प्रहरी कार्यालय परिसरमा व्यापक क्षति
टाइम्स अफ इन्डियाका अनुसार घटनामा २४ प्रहरी र ३ स्थानीय गरी कम्तीमा २७ जना घाइते भएका छन्।
प्रहरी कार्यालयभित्र रहेका दर्जनौँ सवारीसाधन क्षतिग्रस्त बनेका छन्। विस्फोटपछि तुरुन्तै दमकल परिचालन गरिएको थियो।
प्रहरीले सुरक्षालाई कडा बनाउँदै नौगाम स्टेशन आसपासका सबै मार्ग बन्द गरेको छ। घटनाको विषयमा स्वतन्त्र आतंकवाद सम्बन्धी अनुसन्धान पनि अघि बढाइएको बताइएको छ।
दिल्ली कार विस्फोटसँग पनि सम्बन्ध?
जाँचकर्ताहरूका अनुसार यही मोड्युल नोभेम्बर १० मा दिल्लीमा भएको कार विस्फोटमा पनि संलग्न रहेको आशंका छ।
यसले घटनाको संवेदनशीलता र नेटवर्कको संरचनाबारे भारतीय सुरक्षा निकायमा थप सतर्कता बढाएको छ।
