भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक भव्य सम्मान समारोहमा नेपाली युवा नेता तथा सामाजिक अभियन्ता शशांक जैशीलाई “छत्रपति संभाजि महाराज रत्न सम्मान–2025” प्रदान गरिएको छ। भारत मण्डपममा सम्पन्न उक्त विशेष कार्यक्रम भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय महामन्त्री श्री तरुण चुगको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा दिल्ली प्रदेश सरकारका कला, संस्कृति तथा भाषा मन्त्री श्री कपिल मिश्र तथा भारतका पूर्व लेफ्टिनेन्ट जनरल तथा पूर्व राज्यसभा सदस्य श्री देवेन्द्र पौल भाट्स पनि विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
“छत्रपति संभाजि महाराज रत्न सम्मान” भारतका ऐतिहासिक नायक छत्रपति संभाजि महाराजको प्रेरणाबाट स्थापित एक प्रतिष्ठित पुरस्कार हो, जसले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानित गर्छ। यस वर्षको संस्करणमा सामाजिक सेवा, शिक्षा, साहित्य, नेतृत्व, नवप्रवर्तन, युवा प्रेरणा तथा राष्ट्र निर्माणजस्ता क्षेत्रमा सक्रिय रूपमा योगदान दिने दर्जनौँ व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।
शशांक जैशीलाई यो सम्मान प्रदान गर्नुको प्रमुख कारण उनका सामाजिक अभियानहरू, युवाहरूलाई नेतृत्वतर्फ उन्मुख गराउने कार्य, र विद्यार्थी राजनीति तथा समाजसेवामा देखिएको अग्रणी भूमिका रहेको आयोजक समितिले स्पष्ट पारेको छ।
कार्यक्रमका आयोजक समितिका अनुसार, “शशांक जैशीले नेपाली युवा समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्दै, सशक्त नेतृत्वद्वारा युवाहरूलाई सामाजिक उत्तरदायित्वतर्फ आकर्षित गराएका छन्। उनले शिक्षा, नेतृत्व, सामाजिक न्याय र सचेतनाका क्षेत्रमा विगत केही वर्षदेखि दिएको योगदान सराहनीय छ।”
समारोहमा प्रमुख अतिथि श्री तरुण चुगले युवाहरूलाई आफ्नो देश मात्र नभई दक्षिण एशिया क्षेत्रमै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता विकास गर्न आग्रह गरे। उनले भने, “युवाशक्ति नै राष्ट्रको मेरुदण्ड हो। शशांक जैशीजस्ता युवाले दक्षिण एशियाली समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी यात्रा सुरु गरिरहेका छन्।”
दिल्लीका मन्त्री कपिल मिश्रले शशांक जैशीलाई बधाई दिँदै भने, “आजका युवाहरूले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छन्, जुन अत्यन्तै सकारात्मक संकेत हो। शशांक जैशीको कामले सम्पूर्ण युवा पुस्तालाई नेतृत्व र समाजसेवाको बाटो देखाएको छ।”
पूर्व लेफ्टिनेन्ट जनरल देवेन्द्र पौल भाट्सले पनि नेपाली युवाको सक्रियता र भारत–नेपाल सम्बन्धमा उनको योगदानको चर्चा गर्दै उनले दक्षिण एशियाको समृद्धिका लागि आपसी सहकार्य र नेतृत्वको आवश्यकतालाई जोड दिए।
सम्मान प्राप्त गरेपछि संक्षिप्त मन्तव्य दिँदै शशांक जैशीले भने, “यो सम्मान केवल मेरो व्यक्तिगत यात्रा मात्र होइन, यो सम्पूर्ण नेपाली युवाहरूको सामूहिक प्रतिबद्धता र संघर्षको प्रतिफल हो। म यो सम्मानलाई एक प्रेरणाको रूपमा लिएर अझ जिम्मेवार र सक्रिय रूपमा समाजसेवामा लाग्ने छु।”
उनले भारत सरकार, आयोजक संस्था र सबै समर्थनकर्ताप्रति आभार व्यक्त गर्दै नेपाली र भारतीय युवाबीचको सशक्त सहकार्यको महत्वलाई समेत जोड दिए।
यो सम्मान समारोहले भारत–नेपालबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास गरिएको छ। शशांक जैशी जस्ता युवाहरूको सक्रियता र योगदानले निश्चय नै आगामी दिनमा दक्षिण एशियामा नेतृत्व, सहकार्य र सामाजिक रुपान्तरणका नयाँ अध्यायहरू लेख्नेछ।
