“कपडा मात्र होइन, आशा बोक्ने अभियान : तिलोत्तमामा क्लोथ एन्ड फुड बैंक नेपालको नयाँ सुरुवात”

१३ बैशाख २०८२, शनिबार १७:१२

वैशाख १३, बुटवल ।
सामाजिक सेवामा नयाँ उचाइ थप्दै, क्लोथ एन्ड फुड बैंक नेपालले तिलोत्तमा, रुपन्देहीमा अवस्थित आफ्नै कार्यालय प्राङ्गणमा ‘कपडा बैंक’ (क्लोथ ड्रप बक्स) स्थापनाको शुभारम्भ गरेको छ।

विशेष समारोहका बीच नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीले औपचारिक रुपमा बैंकको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै एआईजी कार्कीले ‘दिनेले दिने र नहुनेले लिने’ मानवीय भावनासहित सञ्चालित यस अभियानलाई अत्यन्तै महत्वपूर्ण भन्दै प्रशंसा गर्नुभयो। उहाँले समाजमा सेवा प्रवाह गर्ने यस्तो अभियानलाई निस्वार्थ भावनाबाट अघि बढाउन सबैमा आग्रहसमेत गर्नुभयो।

यस अभियानका अगुवा कमल जि सी तथा सामाजिक सेवा क्षेत्रमा निस्वार्थ योगदान पुर्याइरहेका राजीव गौतम, आविष्कार खनाल, अर्जुन खरेल, भरत जि सी, ज्योतिष जनार्दन न्यौपानेलगायत सबै स्वयंसेवकहरूलाई पनि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रमका अवसरमा क्लोथ एन्ड फुड बैंक नेपालका संस्थापक अध्यक्ष कमल जि सीले कपडा बैंक स्थापनाको उद्देश्य र भावी योजना समेट्दै आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। साथै, हालै नेपाल प्रहरीमा डीआईजीबाट एआईजी पदमा पदोन्नति भएका दान बहादुर कार्कीलाई उहाँले सम्मान गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

सन् २०८० फागुन ५ गतेदेखि सुरु भएको कपडा बैंक अभियानले “आफ्नो घर, टोल र समाज सफा राखौँ, कोही पनि कपडाविहीन नरहोस्” भन्ने मुल नारा अघि सारेको छ। सुरुयता, बैंकले देशभर विपद्का बेला बाढी, पहिरो तथा आगलागीपीडितहरूसहित थुप्रै जरुरतमन्दहरूलाई ठूलो मात्रामा लत्ताकपडा वितरण गर्दै आएको छ।

अध्यक्ष जि सीका अनुसार, कपडा बैंकले फोहोर व्यवस्थापन, आर्थिक उपयोगिता, राष्ट्र निर्माण तथा स्रोतसाधनको पुनः प्रयोगमा समेत उल्लेखनीय योगदान पुर्याइरहेको छ। प्रयोगमा नआएका कपडाहरूलाई संकलन, छनाैट, धुने, सेनिटाइज गर्ने, प्याकेजिङ गरी निःशुल्क वितरण गर्ने उद्देश्यले बैंक सञ्चालन गरिएको हो, जसको कार्यकाल १० वर्षको लागि तोकिएको छ।

प्रत्येक ड्रप बक्समा पाँचदेखि सात सय किलो कपडा राख्न सकिने छ। निकट भविष्यमै देशभर १,००० वटा कपडा बैंक तथा फूड बैंक र हेल्थ बैंक स्थापना गर्ने दीर्घकालीन लक्ष्यसहित क्लोथ एन्ड फुड बैंक नेपालले राष्ट्रिय स्तरमा अभियान विस्तार गर्ने योजना बनाएको छ। अध्यक्ष जि सीले सबै नेपालीलाई यो अभियानमा सहभागी भई सहयोग गर्न हार्दिक अपिल पनि गर्नुभएको छ।