निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गरेको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार सोमवार बसेको पदाधिकारी बैठकले निर्वाचन आयोग ऐन २०७४ को दफा १३ बमोजिम साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
साह बैंकको कालोसूचीमा रहेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा दाबी पुष्टि भएपछि उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।
ऐनको दफा १३ को उपदफा ‘ज’मा प्रचलित कानुनअनुसार कालोसूचीमा रहेको व्यक्ति सो अवधिभर उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ।
