प्रतिनिधिसभा सदस्य उम्मेदवार चौहानसँगको भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न

२६ माघ २०८२, आईतवार २२:४८

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँची–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबहादुर चौहानसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शनिबार काठमाडौंको शंखमूल मार्गस्थित अर्याल होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा अर्घाखाँचीबाट काठमाडौं आएका विभिन्न पेशा–व्यवसाय, अध्ययन तथा रोजगारीमा संलग्न मतदाताको उल्लेखनीय सहभागिता रहेको थियो।

उम्मेदवार चौहानले कार्यक्रममा आफ्नो उम्मेदवारीको उद्देश्य, भावी योजना र विकास प्राथमिकताका विषयमा स्पष्ट धारणा प्रस्तुत गर्दै सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएको बताए। उनले भने,

“राजनीति सेवा हो, स्वार्थको साधन होइन। जनताको भरोसा र विश्वासलाई केन्द्रमा राखेर इमान्दार र जवाफदेही प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

अन्तरक्रिया सत्रमा सहभागीहरूले विभिन्न जिज्ञासा, सुझाव र अपेक्षाहरू राखेका थिए। जवाफ दिँदै चौहानले जनताका हरेक आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने र व्यवहारमै परिणाम दिने नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले परिणाममुखी काम गर्ने नेतृत्वको आवश्यकता औंल्याउँदै चौहानजस्तो अनुभवी र जनसम्पर्कमा बलियो उम्मेदवारलाई विजयी गराउनु समयको माग भएको धारणा राखिन्। पार्टी नेता डिलाराम आचार्यले अर्घाखाँचीमा चौहानजस्तो अनुभवी, सक्षम र जनतासँग प्रत्यक्ष जोडिएको उम्मेदवार नभएको दाबी गर्दै कार्यकर्ता र समर्थकलाई एकजुट भएर विजयी गराउन आह्वान गरे।

कार्यक्रमले काठमाडौंमा रहेका अर्घाखाँचीवासीबीच चुनावी उत्साह थप बढाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको सञ्चालन मधु आचार्यले गरेका थिए भने सभापतित्व विष्णु भाटले गरेका थिए।