स्वास्थ्य बीमा कांग्रेसको प्रतिबद्धता, राष्ट्रिय गौरवको योजना बनाइन्छ : सभापति थापा

२६ माघ २०८२, आईतवार ११:४२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाइने स्पष्ट गरेका छन्। आइतबार सार्वजनिक गरिएको भिडिओ वक्तव्यमा उनले नेपालका स्वास्थ्य समस्या समाधान गर्ने सबैभन्दा प्रभावकारी उपाय स्वास्थ्य बीमा भएकाले कांग्रेसले सरकारको जिम्मेवारी पाउँदा यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘यो नेपाली कांग्रेसको स्पष्ट प्रतिबद्धता हो,’ थापाले भने, ‘हामीले जिम्मेवारी पायौं भने स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौं।’

स्वास्थ्य मन्त्रीको रूपमा कार्यरत रहँदा बीमा कार्यक्रम सुरु गरेको स्मरण गर्दै उनले उपचारकै क्रममा धेरै परिवारको सम्पत्ति सकिएको र गरिबीमा धकेलिएको यथार्थ आफूले नजिकबाट देखेको बताए।

विश्व स्वास्थ्य संगठन (WHO) को अवधारणा उल्लेख गर्दै थापाले नागरिकले खल्तीबाट गर्ने खर्चका आधारमा राज्यको भूमिका मापन हुने बताए। ‘सामान्यतया राज्यको खर्च २० प्रतिशत हुनुपर्छ, तर नेपालमा ५७ प्रतिशत नागरिकले आफैं खर्च गर्नुपरेको अवस्था छ,’ उनले भने।

यही समस्या समाधान गर्न स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमै आवश्यक कानुन निर्माण गरिएको बताए। सो कानुनअनुसार प्रत्येक नागरिकको बीमा हुने, योगदान तिर्न नसक्ने अपांग, ज्येष्ठ नागरिकलगायतको बीमा रकम राज्यले बेहोर्ने व्यवस्था गरिएको उनले स्पष्ट पारे।