शहीदलाई श्रद्धाञ्जली दिँदै बालेनले भने पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

१७ माघ २०८२, शुक्रबार ०८:२९

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले ८५ वर्षसम्म पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् । शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली दिँदै बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

‘राणाशासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ,’ बालेनले भनेका छन्, ‘त्यसको १० वर्षपछि राणाशासनको अन्त्य भयो, तर राज्य जनताको बन्न सकेन। त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।’