सानोठिमीस्थित बाल सुधारगृहमा झडप र आगजनी, अवस्था नियन्त्रणमा लिन बाक्लो सुरक्षाकर्मी परिचालन

१० माघ २०८२, शुक्रबार ०७:५२

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा दुई पक्षबीच झडप र आगजनी भएको छ ।

गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड समेत भएको प्रहरीले जनाएको छ । प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली परिचालन गर्नुपरेको छ ।

झडपको जानकारी पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।

स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको हो ।

आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ ।