आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले अर्घाखाँचीबाट विष्णुप्रसाद खनाल (मुस्कान) लाई उम्मेदवार बनाएको छ। खनाल कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्रीसमेत हुन्।
मालारानी गाउँपालिका–४ खनका खनालले नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। स्थायी शिक्षकको जागिर छाडेर २०५४ सालको स्थानीय निर्वाचनमा उनी कांग्रेसबाट खन गाविस अध्यक्षमा उम्मेदवार बनेका थिए।
केही वर्ष जिल्लामा पत्रकारिता गरेका खनाल कांग्रेसको गाउँ, क्षेत्र र जिल्ला तहमा विभिन्न जिम्मेवारी सम्हाल्दै जिल्ला सभापति हुँदै प्रदेश तहसम्म पुगेका हुन्। उनी २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा पनि उम्मेदवार थिए।
दुई निर्वाचनमा पराजित भए पनि यसपटक खनाल प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्न लागेका छन्। स्नातक तह उत्तीर्ण ५५ वर्षीय खनाल विद्यार्थी जीवनदेखि नै जिल्लामै सक्रिय रहँदै पत्रकारिता, राजनीति र सामाजिक सेवामा संलग्न प्रभावशाली नेताका रूपमा परिचित छन्।
