आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुनेछ। उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै सम्बन्धित पालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि प्रकारको तडकभडक नगर्न र शान्त तथा मर्यादित ढंगले निर्वाचन कार्यालय पुग्न राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ।
आयोगले यसअघि समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।
गत भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ। निर्वाचन सुरक्षाका लागि प्रहरी छनोट प्रक्रिया पनि अघि बढाइएको छ।
अधिकांश दलले उम्मेदवार छनोट गरिसकेका छन्। नेपाली कांग्रेसले केही क्षेत्रमा उम्मेदवार टुंग्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ। एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारलाई आधिकारिक पत्र वितरण गरिसकेका छन्।
