आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य रामबहादुर चौहानलाई उम्मेदवार बनाएको छ।
मालारानी गाउँपालिका–५ बाँगी निवासी ५२ वर्षीय चौहानले संसदीय चुनाव पहिलोपटक लड्न लागेका हुन्। नेकपाको जिल्ला कमिटीले पूर्व राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कासहित आठ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर खड्काले चौहानलाई समर्थन गरेपछि अन्य सम्भावित उम्मेदवार पछि हटेका छन्।
चौहानले एमाले निकट अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०४९ सालमा पाणिनि बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका उनी २०५० मा अखिल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भए। २०५४ मा युवा संघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदै २०५६ मा एमाले जिल्ला सचिवालय सदस्य तथा युवा इन्चार्जको जिम्मेवारी सम्हालेका थिए।
२०६९ मा सातौं जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी सचिव बनेका चौहान २०७७ मा विद्रोहपछि समानान्तर कमिटी अध्यक्ष हुँदै नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बने। पछि नेकपा एस र माओवादी केन्द्र एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्यको भूमिकामा छन्।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय चौहान नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष, अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष तथा सामुदायिक प्रहरी सेवा केन्द्रका दीर्घकालीन अध्यक्ष रहिसकेका छन्।
अंग्रेजी विषयमा स्नातक उत्तीर्ण चौहान विद्यार्थी कालदेखि जिल्लामै बसेर राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। जिल्लामा उनलाई प्रभावशाली नेताका रूपमा हेरिने गरिन्छ।
