साबिक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भइसकेको सन्दर्भमा लुम्बिनी प्रदेशका विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्।
घोषणा पत्रमार्फत उनीहरूले आजकै मितिदेखि पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिबाट स्वेच्छाले अलग भएको जानकारी गराएका छन्।
घोषणामा उल्लेख गरिएअनुसार यो निर्णय व्यक्तिगत सोच, अनुभव तथा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर मूल्याङ्कनपछि लिइएको हो। कुनै व्यक्ति विशेषप्रतिको असन्तुष्टि नभई आफ्ना विचार, सिद्धान्त र जनहितप्रतिको प्रतिबद्धताका आधारमा यो कदम चालिएको जनाइएको छ।
पार्टी परित्याग गर्ने नेताहरूले आजको मितिपछि पार्टीसँग कुनै राजनीतिक, सांगठनिक वा नैतिक सम्बन्ध नरहने स्पष्ट पारेका छन्। साथै पार्टीभित्र रहँदा मार्गनिर्देशन गर्ने नेतृत्व, सहकार्य गर्ने साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
आगामी दिनमा आफ्ना मूल्य, विवेक र जनसेवाको भावनालाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाइएको छ।
पार्टी परित्याग घोषणा गर्नेहरूमा:
- विष्णु ढकाल – जिल्ला सदस्य (साबिक) तथा अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष
- जितेन्द्र खत्री – नगर सचिवालय सदस्य तथा वडा इन्चार्ज (साबिक), गणतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनी प्रदेश अध्यक्ष
- लोक बहादुर नेपाली – जिल्ला सदस्य (साबिक)
- नारायण गौतम – नगर सचिवालय सदस्य (साबिक)
- शोभाकर पाण्डे ‘माधव’ – प्रदेश प्रतिनिधि (साबिक)
- जग बहादुर श्रेष्ठ – वडा समिति अध्यक्ष
- राजकुमार पाण्डे – वडा समिति उपाध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य
घटनालाई लुम्बिनी प्रदेशको राजनीतिक वृत्तमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
