जाँचबुझ आयोगले घरमै पुगेर लियो ओलीको बयान, स्थानहदबारे के भयो निर्णय ?

२१ पुष २०८२, सोमबार ०८:५७

गत भदौमा भएको युवा (जेन–जी) आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ। आयोगका अधिकारीहरू ओली निवासमै पुगेर बयान लिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन्।

प्रवक्ता शर्माका अनुसार ओलीलाई आइतवार नै आयोगको तर्फबाट पत्र पठाइएको थियो। “उहाँले आजै आफ्नो स्टेटमेन्ट दिनुभएको हो,” शर्माले बताए। ओलीले आयोगसमक्ष आफ्ना धारणा लिखित रूपमा पेश गरेको जनाइएको छ।

यसअघि ओलीले आयोगमा उपस्थित भएर बयान नदिने अडान सार्वजनिक रूपमा दोहोर्‍याउँदै आएका थिए। आयोगले भने आवश्यक परे आयोग आफैं सम्बन्धित व्यक्तिकहाँ पुगेर बयान लिने अधिकार प्रयोग गरेको जनाएको छ। शर्माका अनुसार ओलीको स्थानहदबारे अन्तिम निर्णय आयोगको बैठकबाट हुने छ। हाल आयोगले उनलाई अनुमतिबिना काठमाडौँबाहिर जान नपाउने गरी स्थानहद तोकेको छ।

यसअघि नेकपा एमालेका एक पदाधिकारीले आयोगको पत्र ओलीसम्म पुगेको पुष्टि गरेका थिए। ती पदाधिकारीका अनुसार ओली स्वयं आयोगको कार्यालयमा नजाने तर आयोगका अधिकारीहरू घरमै गएर बयान लिने व्यवस्था भएको थियो।

भदौ २३ गते नवयुवाहरूले आयोजना गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर कैयौँ व्यक्तिको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट आन्दोलन झन् चर्किँदै काठमाडौँसहित देशका विभिन्न स्थानमा हिंसात्मक गतिविधि, लुटपाट, तोडफोड र आगजनीका घटना भएका थिए। ती घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

एमाले अध्यक्षसमेत रहेका ओली र उनका दलका नेताहरूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आलोचना गर्दै आएका छन्। आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका उच्च अधिकारीहरूसँग बयान लिइसकेको छ।