काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ मिलेर देश विकास पार्टीमार्फत राजनीति अघि बढाउने लगभग टुंगो लागेको छ।
घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसके पनि अब बालेन र कुलमान दुवै जना देश विकास पार्टीमै संलग्न भएर अघि बढ्न सहमत भएको उनीहरू निकट स्रोतले जनाएको छ।
देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको पार्टी हो। यसको अध्यक्ष सन्ध्या खनाल छन् भने चुनाव चिह्न लौरो रहेको छ। सोही लौरो चिह्नबाट २०७९ को स्थानीय तह निर्वाचनमा बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका थिए।
स्रोतका अनुसार बालेन र कुलमानबीच देश विकास पार्टीबाटै प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवार उठाउने सहमति भएको छ। त्यसअनुसार ११० क्षेत्रका उम्मेदवार तय गरी पुस १३ र १४ गतेभित्र निर्वाचन आयोगमा बन्दसूची बुझाउने तयारी भइरहेको छ।
मेयर बालेनले कुलमान घिसिङसँग मात्र होइन, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत विभिन्न दलका नेताहरूसँग पनि छलफल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य नयाँ पार्टी र स्वतन्त्र व्यक्तिहरूलाई समेटेर देश विकास पार्टीलाई अघि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
‘सिके राउत, रेशम चौधरी, अमरेशकुमार सिंहलगायतसँग मेयर बालेनले भेटघाट गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘जेनजी अभियन्ता रक्षा बमलगायतसँग पनि छलफल भएको छ। सबैलाई समेटेर पार्टी अघि बढाउने तयारी छ।’
रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच हालै कमलपोखरीमा करिब ६ घन्टा छलफल भए पनि ठोस सहमति बन्न नसकेको स्रोतले जनाएको छ। मंगलबारसम्म ठोस प्रस्ताव आउने सहमति भए पनि समयमै प्रस्ताव नआएपछि बालेनले आफ्नै तर्फबाट राजनीतिक गृहकार्य तीव्र बनाएको बताइएको छ।
यसैक्रममा बालेनले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, राप्रपाका ज्ञानेन्द्र शाही, चिकित्सक डा. भगवान कोइराला, अभिनेता निश्चल बस्नेत तथा जेनजी अभियन्ताहरूसँग पनि भेटघाट गरेका छन्। यी छलफलहरूको केन्द्र ललितपुरको कुपण्डोलस्थित उनका निकट सहयोगी कुमार व्यञ्जनकारको निवास रहेको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने मिति नजिकिँदै जाँदा बालेनले १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवार खोजीसमेत अघि बढाएको स्रोतले जनाएको छ।
