पूर्वप्रधानमन्त्री तथा नेकपा का सयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना दिएका छन्।
प्रचण्डले पर्वतहरू प्राकृतिक अमूल्य धरोहर भएको उल्लेख गर्दै जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनमा पर्वतहरूको महत्वबारे प्रकाश पारेका छन्। उनले भने, “तर जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन् र हाम्रो पर्वतीय पारिस्थितिकी प्रणाली असन्तुलित बन्दै गएको छ। यसको प्रत्यक्ष असर बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखिएको छ।”
यस वर्षको विश्व पर्वत दिवसको विषयवस्तु “हिमनदीहरूले जल, खाद्यान्न र जीविकोपार्जनका लागि महत्त्व राख्छन्” रहेको छ। प्रचण्डका अनुसार, नेपालको ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय छ र हिमालयको काखमा रहेको हाम्रो देश जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा छ।
उनले जलवायु न्याय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सक्रिय भूमिका पनि स्मरण गराएका छन्। “हामीले ‘पर्वत, मानिस र जलवायु’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादको उद्घाटन गर्दै हिमालय क्षेत्रका देशहरूबीच एकताबद्ध पर्वतीय आवाज निर्माण गर्न आवश्यक रहेको कुरा अघि सार्यौं,” प्रचण्डले भने। उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई प्रेरणादायी भएको पनि औँल्याए।
पूर्वप्रधानमन्त्रीले पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायमा निरन्तर अपील भइरहेको उल्लेख गर्दै, “पर्वतहरू सुरक्षित नभएसम्म दीर्घकालीन समृद्धि र स्थिरताको कल्पना गर्न सकिँदैन,” भनी जोड दिएका छन्।
प्रचण्डले विश्व पर्वत दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि नयाँ ऊर्जा र सङ्कल्प प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

