प्रचण्डद्वारा भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसमा शुभकामना

२४ मंसिर २०८२, मंगलवार १७:१६

नेकपा (माओवादी केन्द्र)का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले भने, “भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन, निरन्तरको सङ्घर्ष हो। यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य छ।”

प्रचण्डले आफ्नो कार्यकालमा सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनाएको स्मरण गर्दै, दलाल, विचौलिया र भ्रष्ट तत्वहरूविरुद्ध कडाइका कदम चालिएको उल्लेख गरे। उनले प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य र सम्पत्ति छानबीनका महत्त्वपूर्ण पहलहरूलाई पनि याद गराए।

उनले यो दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति जिम्मेवार बनाउन र भ्रष्टाचारमुक्त, समृद्ध नेपाल निर्माणको सङ्कल्पलाई सशक्त बनाउन प्रेरणा देओस् भनी शुभकामना व्यक्त गरे।