काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजावादी अभियन्ता दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओ फुटेजमा सुनिएको आवाज आफ्नै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त स्वीकारोक्ति गरेका हुन् ।
बैठकमा सांसदले उक्त भिडिओको बारेमा गृहमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा अर्यालले भने, ‘त्यो भिडिओमा बोलेको एउटा मान्छे म पनि हो । तर मैले त्यस्तो अन्यथा बोलेको छैन । आगजनी भएको पनि ठिक र मान्छेको हताहती भएको पनि ठिक भनेर मैले भनेको छैन । मैले त्यसो हुनु हुँदैन भन्ने कुरा बोलेको छु । त्यसैका लागि म त्यहाँ उपस्थिति थिएँ ।’
उनले थपे, ‘तपाईँले यसो बोलिदिनुभयो भने कम होला कि, यो आगजनी रोकिएला कि भनेर अरूलाई पनि अनुरोध गरिएको थियो । त्यसलाई न्यूनीकरण गर्नको लागि धेरैलाई अनुरोध पनि गरियो । म अहिंसावादी हो । मैले अहिंसाकै पहल गरेको छु र गरिरहने छु । म त्यसमै प्रतिबद्ध छु । कोही पनि उपलब्ध नभएपछि म आफैँले आह्वान गरेको हुँ ।’
