देउवा, प्रचण्ड र दीपक खड्काको घरको खरानीले सबैको मुख खोलाइदियो जलेको पैसा ‘साँचो’ रहेको पुष्टि

२ मंसिर २०८२, सोमबार १४:३१

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री दीपक खड्काको निवासमा जेन–जी आन्दोलनका क्रममा भएको आगजनीपछि संकलन गरिएको खरानीमा नेपाली तथा विदेशी मुद्राको अवशेष भेटिएको फरेन्सिक रिपोर्ट सार्वजनिक भएको स्रोतले दाबी गरेको छ।

गत भदौ २४ गते आगजनीपछि सीआईबी र सम्पत्ति शुद्धीकरण विभागले तीन नेताका निवासबाट मुचुल्का उठाई खरानी तथा अन्य नमुना संकलन गरेका थिए। उक्त नमुना नेपाल प्रहरी प्रयोगशालामा परीक्षण गरिएको थियो।

प्रयोगशालाबाट प्राप्त फरेन्सिक रिपोर्टमा तीन निवासको खरानीमा नोट जलेको प्रमाण भेटिएको उल्लेख छ। यससँगै देउवा, प्रचण्ड, खड्का तथा उनीहरूका परिवारमाथि सम्पत्ति शुद्धीकरण (Money Laundering) सम्बन्धी थप अनुसन्धानको बाटो खुलेको मानिएको छ।

जेन–जी आन्दोलनबेला देउवा, प्रचण्ड, दीपक खड्का, ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत नेताहरूका निवासमा एकैदिन आगजनी भएको थियो। घटनापछि विभिन्न भिडियो र तस्बिरमा थुप्रै पैसा जलेको तथा उडाएको दृश्य देखिएको भन्दै प्रश्न उठेका थिए।

देउवा निवासमा भने भानु देउवाले विज्ञप्ति जारी गर्दै “घरमा पैसा राख्ने सुरुङ नै नभएको” र “जलेको भनिएका नोटहरू ‘फेक’ दाबी” भएका थिए।

फरेन्सिक रिपोर्ट भने आधिकारिक रूपमा सार्वजनिक नगरिए पनि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसमक्ष रिपोर्ट पुगोस् भनी जानकारी गराइएको स्रोतले बताएको छ।