नवलपरासीमा लागूऔषध किनबेचमा संलग्नलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते

१८ माघ २०८१, शुक्रबार ११:२४

नवलपरासी ।औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी खटिएको टोलीले पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार गरेको छ ।

पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् ।

लोनियाले बिक्रीवितरणका लागि लागूऔषध घरमा राखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भइरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा पाँच जनाको टोली खटिइएको थियो ।

प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताएका छन् । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोली लागेको छ ।

घाइते भएका लोनियाको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । खानतलासीका क्रममा ९३ पुरिया ब्राउनसुगर बरामद भएको प्रहरीको भनाइ छ ।

लागूऔषध किनबेचमा संलग्न अर्का एक जना फरार भएका छन् । उनको पनि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिएका छन् ।