क्यालिफोर्निया ।संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्समा मङ्गलवार स्थानीय समय अनुसार १०ः३० बजे सुरु भएको डढेलोले तीव्र हावा र सुक्खा अवस्थाका कारण भयानक बनेको थियो। सान्टा आना नामक शक्तिशाली हुरीले क्त डढेलोलाई तीव्र गतिमा फैलाएको विवरणहरू आएका छन्।
लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीले हवाई निरीक्षण गर्दा आगलागी फैलिएको क्षेत्र १,२६० एकरभन्दा बढी पुगेको बताइन्।
उनका अनुसार भीषण हावा, सुक्खा र साना रूख अनि पातपतिङ्गरका कारण आगो अझै फैलिएको छ।
तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ।
अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन्।
विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टा सम्मको तीव्र हावाले आगो अझ फैलाएको छ।
मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा ठाउँठाउँमा सवारी आवागमन प्रभावित भएको छ।
विगत केही वर्षहरूमा अमेरिकामा डढेलोको आकार, अवधि र शक्ति नाटकीय ढङ्गले वृद्धि भएको छ। अधिकांश त्यस्ता डढेलो मानवीय गतिविधिका कारण र सुक्खा मौसमले गर्दा हुने गरेकाछन् ।