१२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

१७ पुष २०८१, बुधबार १२:१३

काठमाडौं । “जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस ” आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

‘नेपाली टोपी , हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाहरुले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न बाह्र वर्ष अघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको संख्या बढ्न थालेको छ ।

अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिनका लागि यसै दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको यसका एक अभियन्ता रामजी बलामी बताउँछन् ।

नेपाली युवाले बिर्संदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् ।’

यस अवसरमा आज पाटन दरबार क्षेत्रमा आयोजना हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनेछन् ।