कोशी प्रदेश सरकारले कानुनविना नै नियमावली बनाएको भेटियो

१८ असार २०८१, सोमबार १०:३८

काठमाडौं । कोशी प्रदेश सरकारले कानुनविना नै नियमावली बनाएको भेटिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय (पीयू) कानुन सङ्कायले कोशी प्रदेश सभाले निर्माण गरेको कानुनहरूको अध्ययन गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।

गत पुसमा प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालयबिच कानुनहरूको अध्ययन तथा समीक्षा गर्नेबारे सम्झौता भएको थियो । सोही सम्झौता अनुसार विश्वविद्यालयले गरेको अध्ययनका क्रममा विभिन्न ऐनको नियमावली नबनाएको तर, नभएको ऐनको नियमावली बनेको पाइएको प्रदेशका कानुन तथा नियमावलीको अध्ययन तथा समीक्षा टोलीका संयोजक डा. रुद्र शर्माले जानकारी दिए ।

डा. शर्माले भने, ‘सार्वजनिक खरिद सम्बन्धी ऐन छैन । तर, नियमावली बनाएको छ । ऐन नबनाई नियमावली बनाउने भनेको चाहिँ कानुन निर्माणको विश्वव्यापी अभ्यास अनुसार भएन । त्यसखालको २ देखि ४ वटा नियमावली छन् । अर्को कुरा, ऐनहरू धेरै बनाएको भए पनि नियमावली बनेका छैनन् । ऐनको कार्यान्वयन चाहिँ नियमावली बनाएपछि मात्रै हुन्छ ।’

प्रदेश सभाले बनाएका कानुन विश्वव्यापी मान्यता, सिद्धान्त, कानुनको शासनसँग सम्बन्धित विश्वव्यापी मान्यताहरूसँग अनुकूल छ कि छैन, संघीयताको मर्म अनुसार कानुन बनेका छन् कि छैन भनेर टोलीले अध्ययन गरेको उनले बताए ।