कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ: रमेश लेखक

२४ बैशाख २०८१, सोमबार १२:४५

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज (सोमबार) महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा एमालेभित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको बताए।

उनले भने, “नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ । जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन्।”

सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सहकारी छानविनको विषयमा समग्रमा छानविनको विषयमा सकारात्मक धारणा आएको बताउँदै उनले त्यसका लागि कांग्रेस पनि सकरात्मक रहेको बताए। उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानविन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताए।

“सहकारीको रकम अवचलन भएको लगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्”, उनले भने, “हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ।”