संविधानमा पहिचान र अधिकार स्थापित गर्न सङ्घर्ष गर्दै आए पनि अझै पूर्णता पाएको छैन: प्रधानमन्त्री प्रचण्ड

२४ बैशाख २०८१, सोमबार ११:२७

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान अझै पूर्ण नभएको बताएका छन् ।

आज (सोमबार) काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रूपमा सङ्घर्ष गर्दै आए पनि अझै पूर्णता नपाएको बताएका हुन् ।

उनले इमानदार भएर सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गरे ।

उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह पनि गरे ।

प्रधानमन्त्रीले नेपाली समाजको विशेषता र सामाजिक बनावट अनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका लागि आफूले सङ्घर्ष गर्दै आएको पनि बताए ।