पार्टीभित्र असन्तुष्टि बढेपछि अध्यक्ष नेपालले बोलाए संसदीय दलको बैठक

२४ बैशाख २०८१, सोमबार ११:१२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । पार्टीभित्र असन्तुष्टि बढिरहेको चर्चाका बीच नेपालले बैठक बोलाएका हुन् ।

आज (सोमबार) दिउँसो बस्ने गरी बैठक बोलाइएको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएलगत्तै नेपालले संसदीय दलको बैठक बोलाएका हुन् ।

नेकपा एसका केही सांसदहरू पनि पार्टी नेतृत्वसँग असन्तुष्ट रहेको स्रोतहरूले बताउने गरेका छन् । पार्टीका सांसदहरूको उक्त असन्तुष्टिको भेउ नेपालले पनि पाएको बताइन्छ ।

माधव नेपाल तथा उपेन्द्र यादव वर्तमान गठबन्धनप्रति असन्तुष्ट रहँदै आएका थिए । नेपाली कांग्रेसले यो गठबन्धनको विकल्प खोज्न गरेका प्रयासहरूलाई नेपाल र यादव दुवैको सदासयता रहेको बताइएको थियो । यस्तो परिस्थितिमा जसपा विभाजन भएको हो ।

जसपाबाट विभाजित भएको समूहले आफूहरू वर्तमान गठबन्धनको पक्षमा रहेको र यादवले गठबन्धन तोड्ने प्रयास गरेकाले पार्टी विभाजन भएको प्रतिक्रिया दिइसकेका छन् । जसका कारण वैकल्पिक गठबन्धन बनाउने प्रयासलाई धक्का लागेको टिप्पणीहरू भइरहेका छन् ।