क्रिकेटर सन्दीपविरुद्धको मुद्दा चन्द र ज्ञवालीको इजलासमा सुनुवाई हुदै

१६ बैशाख २०८१, आईतवार १२:२१

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनमाथि आज पेसी तोकिएको छ ।

क्रिकेटर लामिछानेले दायर गरेको पुनरावेदन रिटको सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीश धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेशी तोकिएको हो।

गएकोे सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो ।