सरकारले तीन वर्षदेखि रोकिएको सोभरेन क्रेडिट रेटिङको प्रक्रिया अघि बढायो

१५ बैशाख २०८१, शनिबार १०:१०

काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ ।

मुलुकको वित्तिय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये क्रेडिट रेटिङ मुख्य आधार हो । यस्तै मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन क्रेडिट रेटिङ गर्ने गरिन्छ ।

वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा यसलाई लिने गरेका छन् । क्रेडिङ रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन ।

वैदेशिक लगानी बढाउने उद्देश्यले आर्थिक वर्ष २०७५‍/०७६ को बजेटमार्फत् सरकारले क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो । यसका लागि सरकारले सार्वजनिक सूचना जारी गरी कम्पनीहरुलाई आमन्त्रण गरेको थियो ।

रेटिङसम्बन्धी विश्वका तीन प्रमुख कम्पनी फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्सले आवेदन दिएकामा सरकारले फिच रेटिङ एजेन्सीसँग सम्झौता गरेको थियो ।

त्यसका लागि तत्कालीन बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआईडी) र हालको यूके एडसँग प्राविधिक सहयोगसम्बन्धी छुट्टै सम्झौता पनि गरिएको छ । सो प्रक्रियाका लागि सरकारले स्ट्याण्डर्ड चाडर्ट बैंकलाई रेटिङ सल्लाहकार तोकेको छ ।

कोभिड–१९ महामारीका कारण अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेको र क्रेडिट रेटिङ गर्दा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने भन्दै यो प्रक्रिया तीन वर्षयता रोकिएको थियो । अर्थमन्त्री वर्षमान पुनको सक्रियतामा फेरि क्रेडिट रेटिङको प्रक्रिया अघि बढेको हो । तीन वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताले सोभरेन क्रेडिट रेटिङका लागि ढिला नगर्न सुझाएका थिए ।

तेश्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले रोकिएको क्रेडिट रेटिङ प्रक्रिया अघि बढाएको हो । त्यसका लागि अर्थ मन्त्रालयले शुक्रबार राजधानीमा सरोकारवालासँग ‘सार्वभौम क्रेडिट रेटिङ’ क्षमता विकास कार्यशाला आयोजना गरेको छ ।

कार्यशालामा अर्थमन्त्री पुन, राजश्व सचिव डा। रामप्रसाद घिमिरे, नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायणप्रसाद रिसाल, बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक पुष्पराज शाही, केन्द्रीय तथ्याङ्क विभाग, सार्वभौम क्रेडिट रेटिङमा प्राविधिक सहयोग गर्दै आएको बेलायती सहयोग नियोग (यूके एड) र रेटिङ सल्लाहकार स्ट्याण्डर्ड चाटर्ड बैंकका प्रतिनिधि सहभागी थिए ।

नेपालमा वातावरण भएरै विदेशी कम्पनीले नाफा कमाइरहेका छन्ः मन्त्री पुन कार्यशालाको उदघाटन सत्रमा मन्त्री पुनले ढिला नगरी रेटिङको काम अघि बढाइने बताए । क्रेडिट रेटिङपछि नेपालको आर्थिक अनुहार संसारले हेर्न पाउने र कसैलाई पनि आर्थिक अवस्थासम्बन्धी तथ्याङ्क भन्दै हिंड्नुनपर्ने उनको भनाइ थियो ।

नेपालले आन्तरिक श्रोत परिचालनबाट मात्र मुलुकको आवश्यकता र जनताको आकांक्षाअनुसार विकास गर्न सम्भव नहुने भएकाले वैदेशिक लगानी आकर्षित गर्नैपर्नेमा उनले जोड दिए । त्यसका लागि मुलुकको वित्तिय स्वास्थ्य कस्तो छ भन्नेबारे लगानीकर्ताले जान्न सोभरेन रेटिङ जरुरी रहेको उनको भनाइ थियो ।