इलाम क्षेत्र नं २ का प्रतिस्पर्धी उम्मेदवारले गरे मतदान, कसले मार्ला बाजी ?

१५ बैशाख २०८१, शनिबार १०:००

काठमाडौं । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी भएका प्रतिस्पर्धी उम्मेदवारले मतदान गरेका छन् ।

नेकपा (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका हुन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना कर्मचारी परिचालन भएका छन् ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।