अध्यादेश ल्याएरै भए पनि लगानी भित्र्याउन प्रतिकूल ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२९ चैत्र २०८०, बिहीबार १०:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश ल्याएरै भए पनि लगानी भित्र्याउन प्रतिकूल ऐन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले वैशाखमा हुने लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणामुखी बनाउन ठोस गृहकार्य गरिरहेको बताएका हुन् ।

सरकारले वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनअघि नै लगानीको वातावरण राम्रो बनाउन विद्यमान १० वटा ऐन र दुईवटा नियमावली संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

लगानी सम्मेलनमा लगानीकर्ता आकर्षित गर्ने उद्देश्य राखेर प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव (हाल गृह) एकनारायण अर्यालको संयोजकत्वमा मंसिर चौथो साता नै नीति, कानुन तथा संरचना सुधार कार्यदल बनाइएको थियो । जसले सम्मेलनलाई लक्षित गरी १० ऐन र दुई नियमावली संशोधन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन १५ माघमै मुख्यसचिव वैकुण्ठ अर्याललाई बुझाएको थियो ।