गृहमन्त्रीकै अघि बडुले सोधेः सहकारी ठगीमा तपाईंको नाममात्र मिलेको हो ?

१४ चैत्र २०८०, बुधबार १३:१४

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताए ।

बडुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गरे । उनले भने, ‘छापामा आए अनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो । रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाममात्र मिलेको हो कि के हो ?’

बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिने बेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए । त्यस्तै, सांसद बडुले सुन तस्करी प्रकरण सम्बन्धि छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गरिनुपर्ने बताएका छन् ।