बागमतीले तेस्रो जित निकाल्दा कोशी अंक विहीन

५ माघ २०८०, शुक्रबार १७:२३

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको हो । बागमतीको जारी प्रतियोगितामा तेस्रो जित निकाल्दा कोशी प्रदेश भने लगातार चौथो पराजय भोग्न बाध्य बन्यो ।

पहिला ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाएर २७३ रन बनाएको थियो । जवाफमा कोशीले ४७.१ ओभर खेल्दै २०९ रनमा समेटिन पुग्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको बागमतीका लागि आशुतोष घिरैयाले शतकीय पारि खेलेका थिए । उनले १११ बलमा २ छक्का र १६ चौकाको मद्दतले ११८ रनको शानदार पारि खेले । उनको यो करियरकै पहिलो शतकहो ।

यस्तै, कप्तान रित गौतम ४९ रनमा आउट हुँदा रविन जोशीले ४३ रन बनाए । प्रतिक श्रेष्ठले १९ रन बनाएर रन आउटको शिकार भए ।अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।

कोशीका अभ्यास तिम्सिनाले सर्वाधिक ३ विकेट लिँदा कमल खत्री र हेमन्त राईले दुई दुई विकेट लिए । यस्तै फिर्दोश अन्सारीको नाउँमा १ विकेट रह्यो ।

२७४ रनको लक्ष्यसहित मैदानउत्रिएको कोशीले मध्यम सुरुआत गरेपनिलगातार विकेट पतन हुँदा जित नजिक पनि पुग्न सकेन । कोशीका चार खेलाडीले दोहोरो अंकमा रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन भने विर्सन लायक रह्यो ।

कोशीका सुजन थपलियाले ५९ तथा कप्तान अंकित सुवेदीले ५३ रनको अर्धशतकीय पारि खेले । आशिष भट्टराईले ३२ रनको नटआउट पारि खेल्दा सोनु अन्सारी २१ रनमा आउट भएका थिए । हेमन्त राईले १० रन बनाए ।

बागमतीका इशान पाण्डेले सर्वाधिक ५ विकेट लिँदा सूर्य तामाङले २ विकेट लिए । रिजन ढकाल र प्रतिक श्रेष्ठले एक एक विकेट लिए ।

जितपछि ५ खेलबाट ६ अंक बनाएको बागमती दोस्रो स्थानमा उक्लिएको छ । शत प्रतिशत जित निकालेको सुदूरपश्चिम प्रदेश ६ अंकका साथ शीर्ष स्थानमा छ । यसैगरी बागमतीसँग पराजित भएको कोशी अंकविहीन अवस्थामा छ ।