भारतीय सवारी चालक खोज्दै इजरायली टोली हरियाणामा

३ माघ २०८०, बुधबार १२:३७

काठमाडौं । सवारी चालकको चर्को अभाव खेपिरहेको इजरायलले भारतमा प्रतिनिधि पठाएर नयाँ भर्ना सुरु गर्न लागेको छ।

गत एक महिनादेखि हमाससँग युध्दमा व्यस्त इजरायलले प्यालेस्टाइन मूलका मानिसहरुलाई सबै कामहरुबाट निस्काशन गरिसकेको छ भने नयाँ काममा उनीहरुलाई कतैपनि प्रवेश गर्न कडा निषेध गरेको छ।

इजरायलको १५ सदस्यीय प्रतिनिधिमण्डल भारतको उत्तर प्रदेश सरकारसँग आफूलाई आवश्यक पर्ने दक्ष सवारी चालक सहयोग माग्दै औपचारिक प्रक्रियामा जुटिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

सवारी चालकका लागि आकर्षक तलब र विभिन्न वीमा सुविधा पनि प्रस्ताव गर्दै इजरायलले उपचार वीमा सहित मासिक तलब भारतीय रुपैंयाँ १ लाख ३७ हजार, गासवास र मासिक १६ हजार ५१५ मासिक बोनस समेत प्रदान गर्ने प्रस्ताव गरेको छ।

युध्दग्रस्त देशमा भारतीय कामदार लैजान अनुमति दिने कि नदिने भन्ने बिषयमा भारतले स्पष्ट नीति सार्वजनिक नगरेकाले उत्तर प्रदेश सरकारले सवारी चालक भर्ना गर्न इजरायली प्रतिनिधिमण्डललाई अनुमति दिएको जनाईएको छ।

एकसाता पछि हरयाणामा नयाँ सवारी चालक भर्ना सुरु गर्ने बताईएको छ। इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र भारतीय समकक्षी नरेन्द्र मोदीवीच फोन वार्ता भएपछि सवारी चालक भर्नाका लागि उताबाट प्रतिनिधि भारत आएको बताईएको छ।