ग्लोबल आईएमई बैंकद्धारा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

२० पुष २०८०, शुक्रबार १५:२४

काठमाडौं । ग्लोबल आईएमई बैंकले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ती दुई प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

ग्लोबल आईएमई बैंकले लुम्बिनी प्रदेशको पाल्पा जिल्ला, रैनादेवी छहरा गाउँपालिका– ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशको सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका– १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो ।

लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढी महिलाहरूले आफ्नो स्वास्थ्य जाँच गरेको बैंकले जनाएको छ । यही पुस १७ गते मंगलबारदेखि ग्लोबल आईएमई बैंक १७औँ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ ।

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आमनागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।