
काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेचेर ठगि गर्ने सरकारी कर्मचारी पक्राउ परेका छन् । यसरी ठगि गर्ने वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी हुन् ।
उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेचेर रकम लिने गरेको थाहा भएपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले बताए ।
वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुल गर्ने गिरोहका ६ जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा प्रहरीले वैदेशिक रोजगार बोर्डमा कार्यरत अधिकारीलाई पक्रिएको हो ।
त्यो गिरोहले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिको जानकारी पाएपछि आफन्तसम्म पुगेर रकम लिने गरेको बयान दिएको छ भने बोर्डका कर्मचारी अधिकारीले सूचना एवं विवरण चुहाउने गरेको बताइएको छ । पक्राउ परेका सबै अभियुक्तबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
