
काठमाडौँ । प्रधानन्यायधिशमा अस्वीकृत जोशीलाई महाअभियोग लगाईने भएको छ । उनलाई यो भन्दा पहिले पनि अयोग्य भन्दै फिर्ता गरिएको भएपनि उनी फेरी अदालतमा गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी थालेको हो।
महाभियोगका लागि नेकपाले सांसदहरुसँग हस्ताक्षर संकलन गरिरहेको छ। नेकपा संसदीय दलको कार्यालयमा उपस्थित सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराइएको एक सांसदले जानकारी दिए। उनका अनुसार हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन्।
यद्यपि, जोशीसँग अनौपचारिक ढंगले कुराकानी भइरहेको पनि स्रोतले बताएको छ। उनलाई राजीनामा दिन दबाब दिइएको छ। राजीनामा दिएर स्वेच्छिक रुपमा बाहिरिए महाभियोग भोग्नुनपर्ने उनलाई सुझाव दिइएको छ।
प्रधानन्यायाधीशमा संवैधानिक समितिबाट सिफारिस भए पनि संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशी केही समय बिदामा बसेका थिए। तर, नयाँ प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्र आएसँगै पुनस् ४१ दिनपछि सर्वोच्च फर्किएका थिए। त्यसो त गत भदौ २५ गते प्रधानन्यायाधीशका रुपमा सर्वोच्च प्रवेश गरेका मिश्रलाई जोशीले स्वागत गरेका थिए।
जोशी सर्वोच्च फर्किएसँगै नेकपाका नेताहरु उनीसँग आक्रोशित भएका थिए। उनीहरुले राजीनामा दिई सर्वोच्चको गरिमा बचाउन आग्रह गर्दै आएका थिए। तर, जोशीले आग्रह अटेर गर्दै गएपछि नेकपा महाअभियोग लगाएरै निकास खोज्ने प्रयासमा जुटेको हो।